५ भदौ, एजेन्सी ।
घरेलु टोली नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै नेपालको यात्रा टुङ्गिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले तीनै सेटमा कमजोर प्रदर्शन गरेको थियो । घरेलु कोर्ट र दर्शकको समर्थन पाएको नेपालले कुनै समय पनि माल्दिभ्सलाई दबाबमा राख्न सकेन । यसअघि भएका चारै संस्करणमा माल्दिभ्सलाई पराजित गर्दै आएको नेपाल आफ्नै भूमिमा भने स्तब्ध बन्न पुग्यो ।
नेपाललाई माल्दिभ्सले २५–२२, २५–२१, २५–१४ को सेटमा पराजित स्तब्ध बनायो । हारसँगै समूह ‘ए’मा रहेको नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौं स्थानका लागि समूह ‘बी’को तेस्रो भएको अफगानिस्तान सँग खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई किर्गिस्तानले ३–० को सोझो सेटमा हराएको थियो । माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले दुई खेलमा दुई अंक नै जोड्यो ।
यस समूहबाट दुई खेलमध्ये दुवै खेलमा जित निकाल्दै किर्गिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ। माल्दिभ्सले सेमिफाइनलमा समूह ‘बी’को विजेता उज्वेकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।