७ भदौ, एजेन्सी ।
बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । जितसहित सिजनको सुरुवात गरेको बोरुसियाले दोस्रो खेलमा पनि महत्वपूर्ण जित दर्ता गरेको हो ।
पहिलो खेलमा जस्तै शुक्रबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा पनि बोरुसियाको जितमा जेडन सान्चोको भूमिका महत्वपूर्ण रह्यो । पहिलो हाफमा १–० ले पछि परेको बोरुसियाले एफसी कोल्नलाई ३–१ ले पराजित गरेको हो ।
सान्चोले एक गोल गरे भने अर्को एक गोलका लागि सहयोग गरे । २९ औँ मिनेटमा ड्रेक्सलरको गोलबाट एफसी कोल्नले सुरुवाति अग्रता लिएको थियो । ७० औँ मिनेटमा सान्चोले गोल गर्दै खेलमा बराबरी गरे ।

अक्राफ हकिमीले ८६ औँ मिनेटमा गोल गरेपछि बोरुसियाले अग्रता लियो । इन्जुरी समयको चौथो मिनेटमा सान्चोको पासमा पाको अलकेसरले गोल गरेपछि बोरुसिया ३–१ ले विजयी भयो ।
अवे मैदानमा भएको खेलमा जित निकालेको उसको दुई खेलबाट ६ अंक भएको छ । १९ वर्षका सान्चोले पहिलो खेलमा पनि गोल गरेका थिए । उनले सन् २०१७ मा बोरुसिया गएयता बुण्डेस लिगामा १५ गोल गरेका छन् ।










