राधाकृष्ण रथयात्राले नगरपरिक्रमा गर्दे, रथ गोल्छा चोक पुग्यो

राधाकृष्ण रथयात्राले नगरपरिक्रमा गर्दे, रथ गोल्छा चोक पुग्यो

७ भदौ, विराटनगर । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा पश्चात ऐतिहासिक श्रीराधाकृष्णको रथ नगर परिक्रमाका लागि अगाडि बढेको छ ।

५२ औं राधाकृष्ण रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय गरी पुग्ने तालिका छ ।

रथयात्रा अहिले गोल्छा चोक आईपुगेको छ । भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४० ठाउँमा विश्राम दिने व्यवस्था छ । यसवर्षको रथ सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो बनाइएको छ । रथको अग्रभागको दायाँ र बायाँ गरी दुवैपट्टि ७५ फिट लामो रथ तान्ने लठ्ठा निर्माण गरिएको छ । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।

रथ निश्कने मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइएको छ । रथको मध्यभागमा राधाकृष्णको प्रतिमा राखेर ९ जना पण्डितको समूह र प्राविधिक टोली रहेका छन् ।

रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्कने झाँकी, भजन मण्डली र प्रदेश १ प्रहरीको सांगीतिक ब्यान्डले प्रदर्शन गर्दैछन् ।

रथयात्रा मार्गमा विभिन्न लोक नृत्य समेत प्रदर्शन गरिएको छ । रथयात्राको लागी मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष सुरक्षा निगरानी राखेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.