८ भदौ, बुटवल ।
भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उनीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।
आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् ।
आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट नै यो निर्णय गर्ने उनले जनाए । पत्रकार सम्मेलनमा बोल्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका छन् ।
पुराना दलहरुले आमजनता, कर्मचारीलाई दलको छाता ओढ्नै पर्ने स्थितिमा पुर्याएको उल्लेख गर्दै मिश्रले यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने ठोकुवा गरे । पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएको र जनताले विकल्प नदेखेर दलको छाता ओढेको बताएका मिश्रले जनताले अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक दलका भातृ संगठनहरु पनि भंग गर्नुपर्नेमा जोड दिए । संयोजक मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खतरामा पर्यो भन्नु सरकार र दलहरुले आफ्नो अकर्मण्यता र कमजोरी ढाकछोप गर्ने बहानाबाजी मात्रै भएको बताए ।
दुई तिहाइ बहुमतको बलियो सरकार रहे पनि जनताले विकासको अनुभुति गर्न नपाएको बरु करको भार थोपर्ने काम भएको भन्दै उनले सरकारको आलोचना गरे ।