८ भदौ, विराटनगर । नेपालकै प्रतिष्ठित औद्योगिक घराना सारडा ग्रुपले विविध कार्यक्रम गरी आफनो स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा सारडा ग्रुपले रक्तदान कार्यक्रमका साथै ग्रुपमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । साराडा ग्रुपका संचालक पवनकुमार सारडाको अध्यक्षतामा सम्पन्न भएको रक्तदानमा १ सय ३० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

ग्रुपले आफना विभिन्न कम्पनीका सवै तहबाट छानिएका २० जना कर्मचारीहरुलाई कार्यकुशलताका आधारमा सम्मान गरेको थियो । कार्यक्रममा संचालक सारडाले सारडा ग्रुपले स्थापनाकालदेखि नै ब्यापार ब्यवसायका अलावा सामाजिक क्षेत्रमा समेत काम गर्दे आएको बताए ।

उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु गरिने प्रतिबद्धता जनाए । १ सय ४० वर्ष अगाडि सिरहाको लहानमा गल्ला किराना खाद्यान्न तथा सुनचाँदी कारोवारबाट सुरु भएको सारडा ग्रुपले पहिलो उद्योगको रुपमा २०१५ सालमा लहानमा पशुपति राइस मिल स्थापना गरेको थियो । त्यसपछि चीनी उद्योग लगायत गरी जनकपुर, राजविराज क्षेत्रमा १५ वटा राइसमिलको स्थापना गरेको थियो ।
ग्रुपले २०३८ सालमा भने विराटनगरमा एभरेष्ट आईरन इण्डष्टिजको स्थापना गरी उद्योग व्यापारलाई अगाडी बढाएको थियो । अहिले आएर ग्रुपले आईरन, वायर, चाउचाउ, विस्कुट, रवर, सिमेन्ट लगायत उत्पादन गर्दे आएको भने हाइड्रो पावरमा समेत लगानी बढाएको संचालक सारडाले जानकारी दिए ।