९ भदौ, काठमाडौं ।
नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएको छ ।
काठमाडौमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले भ्रष्टाचार र समयमै काम सम्पन्न हुन नसक्नुमा सधै कर्मचारी प्रशासनलाई दोषारोपण गर्ने काम भएको भन्दै आपत्ति जनाए ।
उनले कर्मचारीलाई नियम विपरित कामका लागि निर्देशन दिने राजनीतिक नेतृत्व नै सच्चिनु पर्ने आवश्यकता औल्याए । सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधि लगायतले जेठ असारमा करोडौको काम गर्न निर्देशन दिने गरेको भन्दै उनले नियम विपरित काम गर्न नमानेपछि कर्मचारीलाई दोषारोपण गर्ने गरिएको दाबी गरे ।
सार्वजनिक खरिद ऐन विपरित काम गर्न अस्वीकार गरेपछि नेतृत्वले कर्मचारी प्रशासनले काम गर्न दिएन भन्ने गरेको उल्लेख गर्दे उनले सबै भन्दा पहिले “पानीको मुहान नै सफा” हुनुपर्ने तर्क गरे । उनले माघ फागुन भित्र गर्नुपर्ने काम असारमा गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले नियमसंगत काम गर्नेलाई पुरस्कृत र नियम विपरित गर्नेलाई दण्डित गर्ने काम नभएसम्म सुशासनको क्षेत्रमा सधै प्रश्न उठिरहने बताए । उनले नेपाल सरकारले दरवन्दी भन्दा बढी संख्यामा कर्मचारी समायोजन गरेकाले स्थानीय तहले हाजिरी नगराउँदा १ सय ५० बढी कर्मचारीहरु अलपत्र परेको बताए ।
दरबन्दी श्रृजना गर्दा सम्बन्धीत नगरपालिका, स्थानीय तह र सरकारबीच समन्वय हुन नसक्दा समस्या भएको उनको तर्क थियो ।
पत्रकार सम्मेलनमा पेशागत महासंघ नेपालसंग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको यही भदौ ६ र ७ गते काठमाण्डौमा सम्पन्न छैठौँ बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो ।
बैठकले पेशागत हक हित लगायत विषयमा २९ बुँदे माग पत्र सार्वजनिक गर्दै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।