१० भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउदै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेकोमा आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा आपत्ति जनाए ।
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउदै उनले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए । मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको भन्दै कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पुर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए ।