१४ भदौ, विराटनगर ।
नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको १ सय ५ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
शनिबार नेपाली कांग्रेस महानगर कार्यसमितिले वीपी जयन्तीका अवसरमा कोशी अस्पतालको सरसफाइ तथा विरामीलाई फलफुल वितरण गरेको छ । कार्यक्रममा कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले वीपीको योगदान र भनाइलाई कांग्रेसले आत्मसात गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
वीपीको विचार आज पनि उत्तिकै सान्र्दभिक रहेको बताउदै लिम्बूले कांग्रेसजन सबै एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए। फुटको राजनीतिबाट बाहिर निस्कदै पार्टी बलियो बनाउन सक्रिय नेतृत्वको आवश्यक्ता रहेको उनको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा कांग्रेस विराटनगर नगरका कार्यवहाक सभापति अरुण न्यौपानेले वीपीको कुरालाई आत्मसात गर्दै अघि बढे, कांग्रेसको भोलि सुखद रहेको बताए । यहाँ गुटको राजनीति भन्दामाथि उठेर नेताहरुले काम गर्नुपर्नेमा उनले जोड दिए ।
महानगरका मेयर भीम पराजुलीले वीपीको भनाईलाई कांग्रेससँगै नेपाली जनताले बिर्सन नहुने बताए । महानगरको विकासका क्रममा देखिएका कमीकमजोरीमा खबरदारी गर्नु, सुझाव सरसल्लाह दिनु आवश्यक रहेको उनले बताए ।
तत्कालीन समयमा करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध संघर्ष गरेका थिए ।
२०१५ सालमा भएको संसद्को निर्वाचनबाट कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तथापि १०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले कोइरालाको सरकारलाई अपदस्थ गर्दै उनलाई २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा थुनेका थिए ।