भदौ १६, एजेन्सी । स्पेनिस लिग फुटबल ‘ला लिगा’मा रियल मड्रिडलाई भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको छ ।
भिल्लारियलको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीका जेरार्ड मोरेनो र मोइ गोमेजले एक एक गोल गरे । तर, रियल मड्रिडका ग्यारेथ बेलले दुई गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
यसैविच, ला लिगाकै अरु खेलमा एथ्लेटिको मड्रिडले आइबारलाई ३–२ ले हराउँदा भ्यालेन्सियाले मयोर्कामाथि २–० को तथा ग्रानाडाले इस्पानियोलमाथि ३–० को जित निकाल्यो ।
आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंकतालिकामा ३ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।
७-७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ५ अंक जोडेको रियाल मड्रिड पाँचौं स्थानमा रहँदा ४ अंकसहित बार्सिलोना आठौं स्थानमा छ ।