भदौ १६, एजेन्सी । शीर्ष खेलाडीहरु रोजर फेडेरर र सेरेना विलियम्स युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अमेरिकाको न्यूयोर्कमा जारी वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिसको चौथो चरणमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै फेडेरर अन्तिम आठमा पुगेका हुन् ।
तेस्रो वरीयताका फेडेररले १८औं वरीयताका गोफिनलाई ६–२, ६–२ र ६–० को सोझो सेटमा पराजित गरे ।
पाँचपटकका युएस ओपन च्याम्पियन फेडेररले अब सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग खेल्नेछन् ।
यसैविच, महिलातर्फ उपाधि दाबेदार सेरेना विलियम्स र योहाना कोन्टा क्वार्टरफाइनलमा पुगेका छन् ।
चौथो चरणको खेलमा क्रोएसियाकी पेट्रा मार्टिकलाई ६–३ र ६–४ को सोझो सेटमा हराउँदै ६ पटककी च्याम्पियन सेरेना क्वार्टरफाइनलमा पुगेकी हुन् ।
सेरेनाले अब सेमिफाइनल प्रवेशका लागि चीनकी वाङ क्वाङसँग खेल्नेछिन् ।
महिला एकलकै अर्को खेलमा चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभालाई ६–७, ६–३ र ७–५ को कठिन सेटमा हराउँदै बेलायतकी योहाना कोन्टा पनि क्वार्टरफाइनलमा पुगेकी छन् ।