ट्रेकिङमा लाग्यो चुनाव, दलीय भिड्न्त हुने

ट्रेकिङमा लाग्यो चुनाव, दलीय भिड्न्त हुने

भदौ १६, काठमाडौं । आगामी भाद्र २० गते काठमाडौंमा ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रिय निर्वाचन हुँदैछ ।

टानको आगामी २ वर्षे कार्यकालका लागि भाद्र २० गते निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सत्तारुढ नेकपाको समर्थन रहेको थापा समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरे ।

दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन । नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले पर्यटन क्षेत्रको विकासका लागि त्यसको गुणस्तरीय सेवामा लागि पर्ने पनि बताए । कांग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारे ।

उनले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढि काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे । आगामी भाद्र २० गते टानको ४१ औं साधारण सभाको अवसर पारेर निर्वाचन हुँदैछ ।निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित १७ पदका लागि निर्वाचन हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.