१७ भदौ, विराटनगर ।
आज ऋषिपञ्चमी पर्व । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाइ–धुवाइ गर्ने गर्दछन् ।
साथै, एक वर्षको प्रतीकका रुपमा ३६५ ओटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।
अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा–आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । देशका विभिन्न स्थानमा रहेका महादेवको मन्दिरमा पूजा–आराधना गर्नेको बिहानैदेखि ठूलो भीड लागेको छ ।
कतिपय महिलाले भने घरमै ब्राह्मण पुरोहित बोलाइ सप्तऋषिको पूजा गरिरहेका छन् । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजन–कीर्तन गर्ने चलन पनि छ ।
रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।