भदौ १७, एजेन्सी । भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला क्लिनस्विप गरेको छ ।
सोमबार राति सम्पन्न दोस्रो टेष्ट क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेसँगै सिरिज क्लिनस्विप गरेको हो ।
४६८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले आफ्नो दोस्रो पारीमा २१० रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले सहज जित निकालेको हो । शामर्ह ब्रोक्सले ५० रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामी र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ४१६ रन बनाएपछि बलियो स्थितिमा पुगेका थिए । भारतका लागि हनुमा विहारीले १११ रन बनाए ।
भारतले आफ्नो दोस्रो पारीमा भने चार विकेटको क्षतिमा १६८ रन बनाएपछि पारी समाप्तको घोषणा गरेसँगै वेष्ट इन्डिजले ४६८ रनको लक्ष्य पाएको थियो ।