डडेलधुरामा स्क्रब टाइफसको महामारी, २७ जना संक्रमित

डडेलधुरामा स्क्रब टाइफसको महामारी, २७ जना संक्रमित

भदौ १७, धनगढी । सुदूरपश्चिमको डडेलधुरामा स्क्रब टाइफसको महामारी फैलन थालेको छ । पछिल्लो १५ दिनमा मात्रै डडेलधुरामा २७ जना स्क्रब टाइफसका बिरामी देखा परेका छन् ।

डडेल्धुरा अस्पतालमा भदौ महिनाको हालसम्म मात्रै १ सय २८ शंकास्पद बिरामीलाई चेकजाँच गर्दा २७ जनामा स्क्रब टाइफस फेला परेको अस्पताल प्रशासनले जनाएको छ ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुषालका अनुसार १ सय २८ जना बिरामीको रगत परिक्षण गरिएकोमा २७ जनामा स्क्रब टाइफस देखा परेको हो ।

अस्पतालले भदौ ५ गतेबाट १५ गतेसम्म उपचारका लागि आएका १ सय २८ जना बिरामीको रगत परिक्षण गरेको उनले बताए ।

डडेल्धुरा अस्पताल डडेल्धुरामा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेकाले संक्रमित २७ डडेल्धुराका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका प्रयोगशाला प्रमुख भुषालले बताए ।

गत वर्ष डडेल्धुराको अजयमेरुमा पहिलो पटक देखा परेको स्क्रब टाइफस वर्षातको समयमा अन्य पहाडि जिल्लामा पनि देखा पर्न थालेको छ । गत साल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १ सय ३० जनाको स्वास्थ्य चेकजाँच गर्दा ५० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांकमा उल्लेख छ ।

जस मध्य दुई जनाको मृत्यु समेत भएको थियो । पछिल्लो समय किटजन्य रोगको महामारी पहाडि जिल्लामा फैलिन थालेको छ । गत साउनमै डडेल्धुरामा कालाजार रोगको बिरामी भेटिएका थिए ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका ६ का २१ वर्षीय विपि जोशीलाई कालाजारको संक्रमण देखापरेको थियो । कालाजार र स्क्रब टाइफस किटजन्य रोग भएकोे प्रयोगशाला प्रमुख भुषालले बताए ।

स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशी दुख्ने, अत्याधिक टाउको दुख्ने, खल्खल्ती पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पतालका डाक्टर उत्तम भट्टले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेल यसपटक किटजन्य रोगले सताएको भन्दै आम सर्वसाधारणलाई सचेत रहन सुझाव दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.