१९ भदौ, विराटनगर ।
दुईबर्षपछि हुने १२ औं राष्ट्रिय जनगणना लाई सफल बनाउन परामर्श लिने कार्य सुरु भएको छ ।
२०७८ मा हुने जनगणनालाई सफल बनाउन केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङले विहीबार विराटनगरमा सञ्चारकर्मीहरुसंग छलफल कार्यक्रम गरेको छ । छलफलमा ४ दर्जन बढी सञ्चारकर्मी र पत्रकार सहभागि भएका थिए ।
छलफलमा सहभागि पत्रकारहरुले राष्ट्रले बनाउने विभिन्न योजनाहरुमा जनगणनाको तथ्यांकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले त्रुटिरहित यथार्थपरक तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको आवधिक योजना कार्यान्वयन गर्न र दिशानिर्देश गर्न जनसंख्याको तथ्यांकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले विगतका त्रुटिहरु नदोहोरिने गरि बस्तुपरक तथ्यांक संकलन गर्नुपर्ने बताए ।
उनले बस्तुपरक तथ्यांक प्राप्त गर्न सकिए २०७८ को जनगणना कोशे ढुंगा साबित हुने बताए । मन्त्री कार्कीले गणनावाट आउने तथ्याङकबाट व्यवसायिक कृषि र पशुपालनमा मुलुकले फड्को मार्ने विश्वास समेत ब्यक्त गरे ।
तथ्याङक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपालिको जनगणनामा शिक्षित युवाहरुलाई तथ्याङक संकलन गराउने जानकारी दिदै कुल ६० हजार जनशक्ति परिचालन गरिने जानकारी दिए ।
उनले जनगणनामा सर्वसाधारणलाई सहभागि बनाएर सफल बनाउन आमसञ्चार माध्यमका साथै प्रबिधिको प्रयोग गरिने बताए ।
गोष्ठीमा निर्देशक लामिछाने, नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल र पत्रकार महाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय जनगणनाका लागि घर तथा परिवार सुचिकरण २०७८ जेठ १ गतेदेखि २० गतेसम्म र मुख्य प्रश्नावली जेठ २५ गतेदेखी असार ८ गतेसम्म हुने कार्यक्रममा जनाइएको थियो । मेरो गणना,मेरो सहभागिता नारासहित १२ औं जनगणना सम्पन्न हुने जनाइएको छ ।