२० भदौ, विराटनगर ।
ओपनर रित गौतमको अर्ध शतकमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोली श्रीलंकालाई १ सय ६० रनको लक्ष्य दिएको छ ।
समूह बी अन्तर्गतको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १६० रनको लक्ष्य दिएको हो ।
वर्षाले ४२ ओभरमा घटाइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतक बनाउँदा कप्तान रोहित कुमार पौडेल ४७ रनमा पवेलियन फर्किए । ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
८६ बलको सामना गरेका रित ५४ रनमा नाभोद दिनुश्रीको बलमा दिलसन मादुसङकमार्फत् क्याच भए । ३ रनले अर्धशतक बनाउन चुकेका रोहित आसियन ड्यानियलको बलमा क्याच भएका थिए ।
सुरुआती दुई विकेटपछि दबाबमा परेको नेपालको इनिङ्स रित र रोहितले उकासेका थिए । वर्षाले खेल प्रभावित हुनुपूर्व नेपालले ९ ओभरको समाप्तिमा २ विकेट गुमाइसकेको थियो । जसमा ओपनर पवन सराफ ४ तथा मोहम्मद आसिफ शेख ७ रनमा पवेलियन फर्किएका थिए ।
पवन ४ रनमा दिलसन मदुसङकको बलमा कमिल मिश्रामार्फत् क्याच भए । आसिफ ७ रनमा मदुसङकको बलमा बोल्ड भए । रासिद खान १५ रनमा अविजित रहँदा हरि चौहानले १२ रन बनाए ।
भिम सार्की १ रनमा एलबिडब्लु धरापमा परे । कुसल मल्ल र कमल सिंह ऐरीले २–२ रन बनाउँदा सागर ढकाल र सूर्य तामाङले १–१ रन जोडे ।
श्रीलंकाका लागि नभोद दिनुश्रीले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दिल्सान मदुसनकाले पनि ८ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । मडानियल र सञ्जयको नाममा समान १ विकेट रह्यो ।
श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । ।