वडाध्यक्षद्वारा झोलुङ्गे पुल कबाडीमा बिक्री

वडाध्यक्षद्वारा झोलुङ्गे पुल कबाडीमा बिक्री

२० भदौ । नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुसी बेचेका छन् ।

विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन् ।

२०२१ मा निर्माण भएको सो पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आमनागरिकलाई केही थाहा नदिएको स्थानीयवासीले बताएका छन् । पुराना सम्पदा बेच्दा सार्वजनिक रूपमा निर्णय नगराई बेच्दा देवीघाटका स्थानीयवासी दुखित छन् ।

कबाडीलाई सुरूमा तीन लाखमा बेच्ने हल्ला भएको र पछि ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए ।

बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र ३५ हजार भने विदुर नगरपालिका–५ का वडाध्यक्षले भागमा लगाएर पठाएको जानकारी दिए । बेलकोटगढी–८ र विदुर–५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको बताए ।

त्यस्तै विदुरनगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे ।

गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचिदिएको र कवाडीलाई ७० हजारमा बेची ३५–३५ हजार दुबै वडाले बाँडेर लिएको उनले बताए ।

यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेंसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ।

विदुर नगरपालिका कार्यालय प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका कार्यालय प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.