२१ भदौ, एजेन्सी ।
स्टार फरवार्ड नेयमारले झन्डै चार महिनापछि पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरीको नतिजा निकालेको छ । शुक्रबार राति भएको खेलमा नेइमारको गोलको सहयोगमा ब्राजिलले कोलम्बियालाई २–२ को बराबरीमा रोकेको हो ।
हार्ड रक स्टेडियम मियामी गार्डेन्समा खेलको १९औं मिनेटमा नेयमारको कर्नरबाट आएको पासमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन ।
२५ औँ मिनेटमा लुइस मुरिएलले कोलम्बियाका लागि बराबरी गोल फर्काए । उनले नै ३४ औँ मिनेटमा गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा २–१ को अग्रता लियो ।
पछि परेको ब्राजिलका लागि ५८ औँ मिनेटमा नेइमारले बराबरी गोल गरे । यानी अल्भेसको पासमा उनले गोल गरेका हुन् । क्लब र राष्ट्रिय टिमबाट नेइमारले गरेको यो मे यताको पहिलो गोल हो।