२२ भदौ, काठमाडौं।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गरेका छन् ।
कांग्रेस महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । आइतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उनले विपी कोइराला जीवनको सुरुवात कालमा बामपन्थी भएको खुलासा पनि गरे ।
महामन्त्री कोइरालाले विपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाई राख्ने गरेको पनि स्मरण गराए । त्यसैगरी विपीले तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आपूmलाई भन्नु भएको पनि बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता शेखर कोइरालाले संविधान विपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए ।
नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप पनि लगाए ।