२३ भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ ।
कांग्रेसले सोमबार सातै प्रदेशको प्रतिनिधिको टुंगो लगाएको हो । आइतबार प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा खटिने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको थियो ।
सोमबार प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको टुंगो लगाएको हो । योसँगै सातै प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
जागरण अभियानमा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइएको छ । कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्नेछ ।