२४ भदौै, विराटनगर । भारतबाट अवैधरुपमा ल्याइएका ५ सय बढी कुखुरा नष्ट गरिएको छ ।

सिमावर्ती भारतीय बजारबाट सुनसरीको बाटो हुंदै नेपालतर्फ भित्र्याउदै गरिएको कुखुरा प्रहरीप्रशासन र सरोकारवालाको पहलमा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।
नियन्त्रणमा लिइएका ५ सय ७२ थान कुखुरा र १२ केजी तयारी मासु विराटनगर–१४ स्थित सिंघीया खोला किनारमा खाडल खनेर पुरिएको छ । नष्ट गरिएको कुखुराको मुल्य ३ लाख हुने जनाइएको छ ।

ती कुखुराहरु दुहबी नगरपालिकाको वडानम्बर ११ चरैया र गढी गांउपालिकाको वडानम्बर ३ र ४ बाट नियन्त्रणमा लिइएको पशु क्वारेन्टाईन कार्यालय विराटनगरका प्रमुख केशवकुमार सिंहले जानकारी दिए ।
सिमावर्ती बाटो हुंदै ११ वटा मोटरसाइकलमा लोडगरि ती कुखुराहरु नेपालतर्फ ल्याउने क्रममा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कुखुरा पालक किसान सुरेशकुमार माझीले जानकारी दिए ।
सुनसरीको सिमावर्ती क्षेत्रहरुमा कुखुरा तस्करीगर्ने प्रयोजनले खोलिएका फर्म संचालकहरुले पारीबाट कुखुरा ल्याएर फर्मको उत्पादन भन्दै बिल काटेर इटहरी र धरानको बजारमा विक्री गर्ने गरेको उनले बताए ।
सुनसरीको देवानगञ्ज हरीनगराहुंदै मात्र दैनिक ५ हजार बढी कुखुरा भित्रिने गरेको किसानहरुले बताएका छन् ।