२६ भदौ, काठमाडौं । करीब १५ महिनादेखि अन्योलमा रहेको मलेसियाको रोजगारी प्रक्रिया खुल्ला गर्ने सहमति भएको छ ।
नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा छलफलपछि तत्कालका लागि मलेसियाको रोजगारी खुल्ने भएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार सहमति अनुसार नेपालले सूचीकरण गरेका ८६ वटा नयाँ स्वास्थ्य संस्था थप्ने प्रक्रिया मलेसियाले आगामी नोभेम्बर पहिलो हप्ताबाट सुरु गर्नेछ ।
साथै अब मलेसिया जाने नयाँ कामदारको रोजगारी शून्य लागत, स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेछ ।
यसअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका मानव संसाधन मन्त्री कुला शेधारनलाई भेट्दै मलेसिया रोजगारी खुलाउन अग्रसर हुन आग्रह गर्दै आएका थिए।
सात महिना पहिले मलेसियासँग श्रम समझदारी भएपनि स्वास्थ्य संस्थाको विषयमा कुरा मिल्न सकेको थिएन ।