२७ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।
प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरि अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पारे ।
सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उनले जानकारी दिए । गृहमन्त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुष संग विहे गर्ने महिलालाई नेपाली अंगिकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको स्पष्ट पारे ।
सरकारले नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिला र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषका लागि अंगिकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उनको भनाई थियो ।
नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन ।
विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुष संग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।