२८ भदौ, इलाम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न गरि बाहिर आएको बताएका छन् ।
इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले भने “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”
अध्यक्ष दाहालले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिए पनि अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको बताएका छन् । उनले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताए ।
दाहालले पार्टीमा गुट उपगुट हुँदा पार्टी नै ध्वस्त हुनेसमेत बताए । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने धारण राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए ।
उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।