३० भदौ, विराटनगर ।
विराटनगरमा आजबाट दुईदिने मगही भाषा–साहित्य सम्मेलन शुरु भएको छ । स्थानीय रामजानकी सेवा सदनमा सम्मेलन शुरु भएको हो ।
सम्मेलनमा पहिलोदिन मगही भाषामा निर्माण गरिएको चलचित्र ‘बिधिया नाच नचावे’ प्रदर्शन गर्नुका साथै मगही भाषाको अवस्थाका बिषयमा चर्चा परिचर्चा गरिने आयोजक भाषा–संस्कृति प्रतिष्ठान मोरङका सदस्य श्यामसुन्दर सुतिहारले बताए ।
उनले सम्मेलनको दोश्रोदिन भने नेपाल तथा भारतका मगही भाषाका साहित्यकारहरुको सहभागिता रहने जानकारी दिए ।
कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय महिलाहरुले मगही भाषाका लोकगीतहरु प्रस्तुत गर्नुका साथै आमंत्रित विशिष्ठ अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
अन्तरराष्ट्रिय मगही फाउण्डेशनका अध्यक्ष बिरबहादुर महतोको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । नेपालको जणगना २०६८ मा देशभरिमा ३५ हजार मगही भाषी रहेको देखिएपनि त्यो भन्दा निकै बढी यो भाषा बोल्ने भाषाभाषी रहेको सम्बद्ध अगुवाहरुले बताउदै आएका छन ।