२ असोज, काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।
नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ । त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलंका २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ ।
बेल्जियम विश्व वरियताको शीर्ष स्थानमा रहेको छ। यस्तै फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ । त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र दशौँ स्थानमा भने अर्जेन्टिना रहेको छ ।