२ असोज, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन् ।
जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको काँग्रेस नेता सिटौलाको भनाई छ ।
उनले सरकारले संविधानलाई कमजोर बनाउने गरी आफैंले विधेयकहरु ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेकाले संविधानको पक्षमा जनमत सृजना गर्न संचारकर्मीहरु पनि लाग्नुपर्ने बताए ।
कांग्रेस नेता सिटौलाले सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको दावी पनि गरे ।