३ असोज, काठमाडौं । नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइँदैछ । संविधान दिवस मनाउनका लागि सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको मूल समारोह समितिले आयोजना गरेका कार्यक्रममा राष्ट्रपतिलगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्पिति रहने छ ।
नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।
यद्यपि संविधानका अन्तरबस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा छन् । यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु पनि रहेका छन् । सरकारले संविधान दिवसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउने घोषणा गर्दै तयारी गरेको थियो ।