३ असोज, एजेन्सी । जलवायु परिवर्तन विरुद्ध सरोकारवाला निकायलाई प्रभावकारी कदम चाल्न घचघच्याउने उद्देश्यसहित शुक्रबार ‘ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु भएको छ ।
प्रशान्त महासागर आसपास र सो क्षेत्रका आइल्याण्डहरुमा शुक्रबार ग्लोबल क्लाइमेट स्ट्राइक सुरु भएको हो । न्युजिल्याण्ड, अस्ट्रेलिया हुँदै अमेरिकाको लस एन्जलससम्मका क्षेत्रमा विशेष गरी स्कूले विद्यार्थी र युवाहरु प्रदर्शनमा सहभागी भएका छन् ।
शुक्रबार दिनभरजसो प्रशान्त क्षेत्रमा प्रदर्शन हुने छन् । जलवायु परिवर्तन विरुद्धको अभियानमा सक्रिय स्वीडिस ग्रेता थुनबर्गको पहलमा प्रदर्शन सुरु भएको हो ।
ग्रेताले अमेरिकाको न्युयोर्कमा हुने प्रदर्शनको नेतृत्व गर्ने छिन् । उनी हाल अमेरिकामा छिन् र उनले स्वीडेनबाट अमेरिकासम्मको यात्रा आन्ध्र महासागर हुँदै तय गरेकी हुन् । त्यस क्रममा उनले शून्य कार्बन उत्सर्जन गर्ने सानो आकारको डंगाको प्रयोग गरेकी थिइन् ।
विश्वव्यापी रुपमा हुने प्रदर्शनमा एक लाख ५० हजार भन्दा बढी मानिसको सहभागिता हुने अपेक्षा आयोजकको छ । प्रदर्शनका आयोजकले जीवाश्मबाट बन्ने इन्धन (कोइला, ग्यास, तेल) सहितको प्रयोग अन्त्य गरिनु पर्ने तथा सबैका लागि जलवायु न्यायको माग गरेका छन् ।
अमेरिकाको लस एन्जलसका ११ लाख भन्दा बढी विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुनका लागि विद्यालय अनुपस्थित हुन छुट दिइएको छ ।