५ असोज, काठमाडौँ ।
साविक विजेता नेपाललाई पराजित गर्दै भुटान काठमाडौँमा जारी साफ यू–१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनमा प्रवेश गरेको हो ।
खेलको ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा थप दुई गोल खादैै नेपाल पराजित भएको हो ।
भुटानका लागि ८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० ले अघि बढाए । विशाल बस्नेतले केजाङलाई लडाएपछि प्राप्त पेनाल्टीमा केजाङले नै गोल गरे । ९० नै मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।
खेलमा नेपालले थुप्रै प्रयास गरेपनि सफल हुन सकेन । त्यसअघि खेलको ११ औं मिनेटमा लोडे वाङ्चुकको कर्नरमा डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा किन्ले दोर्जेको प्रहार गोलरक्षक विशाल सुनारले बचाए । १९ औं मिनेटमा बर्मा सोनामको फितलो प्रहार बिशालले सहजै बचाएका थिए ।
२५ औं मिनेटमा ब्रिजेश चौधरीको पासमा शिशिर लेखीको क्रसमा मनिष डाँगीको हेडर भुटानी गोलरक्षकले बचाए । लगत्तै मनिषको क्रसमा ब्रिजेशको प्रहार डिफेन्डरबाट क्लियर गरिदिएका थिए । ३५ औं मिनेटमा ब्रिजेशको प्रहारलाई भुटानी गोलरक्षक तेन्जिङ दोर्जीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको अर्को अवसरमा ब्रिजेशको प्रहार बाहिरियो ।
५०औं मिनेटमम शिशिर लेखीको पासमा नवीन गुरुङको प्रहार पोस्टबाट थोरै बाहिररिदा नेपाल बराबरीबाट चुक्यो ।६७ औं मिनेटमा किन्ले दोर्जीको बक्सबाहिरको प्रहार पोस्टबाट थोरै आकासिदा भुटानले अग्रता दोब्बर पारेने मौका गुमायो । ६८ औं मिनेटमा मनिष थापाको क्रसमा कप्तान जया गुरुङले डाईभिङ हेड प्रयास गरेपनि भेट्टाउन सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल पराजित हुन पुग्यो ।
योसँगै नेपालको सेमिफाइनलको संभावना झिनो बाँकी रहेको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढिको अन्तरले हराए मात्र नेपालको भाग्य चम्किँदै सेमिफाइनलमा पुग्ने छ । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो ।