५ असोज, विराटनगर ।
नजिकिँदै गरेको दशैँतिहारलाई लक्षित गरेर मोरङ प्रहरीले चाडबाड विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको बेलामा हुनसक्ने लुटपाट, चोरी, कालो बजारी, जुवातास, सिमा नाकामा अवैध पैठारी निकासी तथा समाजमा शान्ति भड्काउने कार्यहरुलाई नियन्त्रण गर्ने उद्धेश्यले आईतबार विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।
चाडबाडका बेला हुनसक्ने विभिन्न अपराधजन्य घटनाहरुलाई लक्षित गरी थप जम्मा ९६० प्रहरी जनशक्ति परिचालन हुने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । मोरङको विशेष सुरक्षा योजनामा विराटनगर महानगरपालिका र नजिकको ईलाकालाई जनघनत्व, आर्थिक कारोबार हुने स्थानहरु, आपराधिक घटना घट्न सक्ने स्थानहरु पहिचान गरी ५ सेक्टरमा र विराटनगर बाहिरका क्षेत्रलाई ९ सेक्टरमा विभाजन गरी सुरक्षा योजना बनाईएको प्रहरीले जनाएको छ ।

सुरक्षा रणनीतीमा सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन, आपराधिक गतिविधिमा लाग्ने व्यक्तिहरुको निगरानी, होटल, लज, रेष्टुरेन्टहरुको निगरानी तथा सिमावर्ती क्षेत्रमा निगरानी तथा चेकजाँच, सार्वजनिक यातायात यात्रुहरुको लागि यात्रु सहायता केन्द्रको संचालन, लोकमार्ग तथा सहायक मार्गहरुमा विशेष चेकिङ्ग लगायतका कार्यहरु गरिने एसपी अधिकारीले जानकारी दिए । उनले चाडबाडको अवधिभरको लागि अधिकतम प्रहरी जनशक्ति परिचालन गरी थप स्थानमा पिकेट, पैदल गस्ती, साईकल गस्ती तथा मोटरसाईकल गस्ती, सिमानाकामा सर्बसाधारणको सहुलियतको लागि प्रहरी सहायता केन्द्र संचालन गरिनुका साथै आवश्यता अनुसार तालीम प्राप्त प्रहरी कुकुरहरु परिचालन गरिने बताए ।
विराटनगर महानगरपालिकाको सुरक्षा योजनाका लागि पिकेट २७ वटा, मोबाईल र सीआरभी गाडी १३ वटा, पैदल गस्ती १४ वटा,साईकल गस्ती २० वटा,क्यूआटी मोटरसाईकल १४ वटा, क्यूआटी गाडी मोबाईल २ वटा र ड्युटी चेकिङ अनुगमन २ वटा सहित जम्मा ९२ वटा सुरक्षा योजना रहेका छन् । त्यस्तै विराटनगर बाहिर क्षेत्रको सुरक्षा योजनामा पिकेट ५९ वटा, मोबाईल गाडी १३ वटा, पैदल गस्ती ५५ वटा, क्युआरटी मोटरसाईकल ३५ वटा गरी जम्मा १६२ रहेका छन् । त्यस्तै बिराटनगर बसपार्क, रानी, २ नं. ढाँट र बिराटचोकमा एक–एक वटा प्रहरी सहायता कक्ष रहने छन् ।