दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

६ असोज, इलाम । इलाममा एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आइतबार आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका हुन् ।

दाजु विष्णु घर नजिक रहेको बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए ।

घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ । घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.