अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा युवक घाइते

अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा युवक घाइते

६ असोज, सप्तरी ।
अज्ञात समूहको गोली प्रहारबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरका २४ वर्षीय भगवती मण्डल घाइते भएका छन् ।

आइतबार राति बह्मपुरस्थित घर फर्किरहेको बेला भगवती मण्डलमाथि गोली प्रहार भएको हो । भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गोली प्रहार गरेको मण्डलले बताए ।

मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए । मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते भएको अवस्थामा उपचारार्थ राति अस्पताल आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बताएका छन् ।

मण्डलको पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिए ।

मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ । गोली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.