६ असोज, विराटनगर ।
प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भीम अधिकारी भदौ महिनाको प्रदेश १ कै सर्वोत्कृष्ट प्रहरी (वेष्ट पोलिस अफ दि मन्थ ) घोषित भएका छन् ।
विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै लगनशील र कर्तव्यनिष्ठ भई ध्वंसात्मक एवं अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याएर सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाएको आधारमा उनीहरुलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिँदै आएको छ ।