कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित

कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित

६ असोज,विराटनगर । 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको लगातारको संसद अवरोधका बाबजुद १ नं प्रदेश सभाबाट मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको छ । सोमबार नेपाली कांग्रेसका सांसदहरुको प्रदेशसभामा नाराबाजी र होहल्ला बीच विधेयक बहुमतले पारित भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिएका थिए । काग्रेसका संसदहरुले घेराउ गरेको रोष्टम छल्दै मन्त्री घिमिरेले विधेयक बैठकमा पेश गरेका थिए ।लगतै सभामुख भण्डारीले विधेयक पारितका लागि प्रक्रियामा लगेका थिए ।विधेयक प्रदेशसभाको बहुमतले पारित गरेको थियो ।

प्रदेशसभामा नेकपाको बहुमत रहेको छ । नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेश भएको थियो । कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो ।

प्रतिपक्ष कांग्रेसले सरकारले बहुमतको बलमा प्रतिपक्षलाई बेवास्था गरेको बताएको छ । रक्षामन्त्री ईश्वर पोखरेलको निर्देशनमा मनमोहन प्राविधिक विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले प्रतिपक्षको मागलाई वेवास्था गर्दै दुई तिहाईको दम्भमा पारित गरेको नेपाली काग्रेसको प्रतिक्रिया छ।

मनमोहन स्मृति प्रतिष्ठानकाद्धारा मोरङको हात्तिमुडामा मनमोहन पोलिटेक्निक संचालनमा छ । प्रतिष्ठानका अध्यक्ष भने रक्षामन्त्री ईश्वर पोखरेल हुन् । प्रदेश सरकारले हात्तिमुडामा रहेको पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय संचालन गर्न सो विधेयक ल्याएको थियो ।

प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयका रुपमा मनमोहन पोलिटेक्निकलाई संचालन गर्न चालू आर्थिक बर्षका लागि १६ करोड रुपैया विनियोजन गरेको छ । पोलिटेक्निक जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.