७ असोज, नवलपरासी ।
नवलपरासीमा विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नम्बर ८ खरखुट्टा जंगलमा सोमबार राति पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
दुर्घटनामा गम्भिर घाइते भएका पाँचजनालाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो । दुर्घटनामा परि नवलपरासी जिल्ला देबचुली नगरपलिका.१ केउरेनी बस्ने बर्ष ३५ दिपक भन्ने पूर्णबहादुर बि.क, देवचुली ५ बस्ने वर्ष २९ को दिलबहादुर ढेगाँ मगर, देबचुली नगरपालिका घर भई हाल कैलाली जिल्ला बस्ने अन्दाजी २६ बर्ष को सुरज राना मगर, देबचुली नगरपालिका वडा नम्बर १० त्रिसुलीनगर बस्ने वर्ष २० को दिपेश राना र सोहि स्थानका वर्ष २३ को हिरा रानाको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरमै बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब पौने दुईबजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा दाङ बाट काठमाण्डौ जादै गरेको ना.७ ख.८६४२ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियोे । दुर्घटना परि बसको चालक मकवानपुर जिल्ला निवासी बर्ष ३५ को लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । र्दुघटनामा परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १७ जनाको चितवन र नवलपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहान ४. ४० बजे मध्यविन्दु नगरपालिका –७ , स्थित पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रीत भई पल्टिदा पाँच जना घाईते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा पाँच जना घाइते भएका हुन् । घाइतेहरुको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।