८ असोज, एजेन्सी ।
यसवर्षको ‘दादा साहेब फाल्के अवार्ड’ बलिउड अभिनेता अमिताभ बच्चनलाई प्रदान गरिने भएको छ ।
उनले वर्षौंदेखि भारतीय चलचित्रमा पुर्याउँदै आएको विशेष योगदानलाई कदर गर्दै उक्त अवार्ड दिन लागिएको हो । केन्द्रीय सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्विटरमार्फत् यो जानकारी दिएका छन् ।
उनले बच्चनलाई शुभकामना दिँदै भारत र विदेशीहरु पनि उनको लागि खुशी रहेको बताए । ‘दादा साहेब फाल्के अवार्ड’ भारतीय चलचित्रको सर्वोच्च सम्मान हो ।
सम्मान र शुभकामनाको लागि अमिताभले ट्विटरमार्फत् नै धन्यवाद दिँदै लेखेका छन्, “यो सम्मान र आदरको धन्यवाद दिनको लागि मसँग शब्दको कमी छ । तर म कृतज्ञ छु, आभारी छु । म एक विनम्र अमिताभ बच्चनमात्रै हुँ ।”
बच्चन पद्मश्री, पद्मभूषण आदिबाट पनि सम्मानित भैसकेका छन् । उनलाई फ्रान्स सरकारले सन् २००७ मा सर्वोच्च नागरिक सम्मान ‘नाइट अफ द लिजन अफ अनर’बाट पनि सम्मानित गरेको थियो ।









