८ असोज,चितवन ।
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताएका छन् ।
प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । ।
नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए । सरकारले चिनियांँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए ।
पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काङ्ग्रेस रहेको बताए ।
काङ्ग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए ।