८ असोज, काठमाडौँ ।
भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । काठमाडौँमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै भारत समूह ‘बी’ को विजेताका रुपमा अघि बढेको हो ।
भारतको जितमा गुर्किरात सिंहले २ र अमन क्षेत्रीले १ गोल गरे । तीनै डोल दोस्रो हाफमा सम्भव भएको थियो । २ खेलमा ४ अंक जोडेको भारत समूह विजेता बन्यो । त्यस्तै २ नै खेलबाट ४ अंक जोडेको बंगलादेश समूह बीको उपविजेता बनेको छ ।गोला प्रथामा भारत विजेता र बंगलादेश उपविजेता बनेका हुन् ।
दुवै खेलमा पराजित श्रीलंका नेपाल जस्तै समूह चरणबाटै बाहिरिएको छ । समान जित, समान गोल र उत्तिनै कार्ड भएपनि बंगलादेश र भारतबीच समूह विजेता र उपविजेता गोलाप्रथाबाट टुंगाइएको थियो ।
बुधबारको खेलमा गुर्किरातको गोलबाट ६५ औं मिनेटमा अग्रता लिएको भारतका लागि उनले नै ८७ औं मिनेटमा दोस्रो गोल गरे । अमनले इन्जुरी समयमा गोल गोलअन्तरलाई बढाए ।
सेमिफाइनलमा भारतले समूह एको उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने बंगलादेशले समूह एको विजेता भुटानको सामना गर्नेछ ।