९ असोज, काठमाडौँ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार चिनियाँ राष्ट्रपति सी जिन फिङको असोजको अन्तिम साता हुने भनिएको नेपाल भ्रमणको तीव्र प्रतिक्षामा रहेको बताएका छन् ।
मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको कार्यतालिका भने खुलाउन चाहेनन् । उनले ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण द्धिपक्षीय हितमा केन्द्रित हुने बताए ।
बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार विश्वका जुनसुकै मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणको स्वागत गर्न तयार रहेको पनि स्पष्ट पारे ।
चीनको आर्थिक तथा सामाजिक विकासबाट नेपालले धेरै सिक्ने सक्ने पनि मन्त्री बास्कोटाको भनाई थियो । मन्त्री बास्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाई केही मिडियाले समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति पनि जनाए ।