१० असोज, एजेन्सी ।
स्पेनिस ला लिगामा सेभिल्लामाथि रोमाञ्चक जित दर्ता गर्दै इवारले पूनरागमन गरेको छ ।
घरेलु टोली इवारले सेभिल्लामाथि ३–२ को शानदार जित निकालेको हो । इवारका फावियन ओरेलाना, पेड्रो लियोन र जोसे एन्जलले गोल गरे । सेभिल्लाका लुकास ओकाम्पस र ओलिभर टोेरेसले गोल गरे ।
खेलको ११औं मिनेटमा लुकासले गोल गर्दै पाहुना टोलीलाई खेलमा अघि बढाए । ३३औं मिनेटमा ओलिभरले गोल गरेपछि घरेलु टोलीविरुद्ध सेभिल्लाले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।
तर, सेभिल्लाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ६६औं मिनेटमा फावियनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । ७७औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
८२औं मिनेटमा जोसेले गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए । ला लिगाको नयाँ सिजनमा इवारको यो पहिलो जित हो ।
इवारले २ बराबरी र ३ हार बेहोरेको छ । जितसँगै इवार ६ खेलबाट ५ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । सेभिल्ला १० अंकसहित सातौ स्थानमा छ ।