बंगलादेश साफ यू–१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश

बंगलादेश साफ यू–१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश

१० असोज, काठमाडौं ।
साफ यू–१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गर्ने टोली बनेको छ बंगलादेश। गएको संस्करणको उप–विजेता बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गरी दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि ३–० को सानदार जित दर्ता गर्न सफल भयो । तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो ।

हलचोकस्थित एपीएफ मैदानमा बंगलादेशले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा मोहम्मद अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई दुई शून्यको अग्रता दिलाए । भुटानमाथि सुरुदेखि नै दबाव बनाएको बंगलादेशले ३२ औं मिनेटमा मोहम्मद मराजले तेस्रो गोल थपेका थिए ।

पहिलो हाफमा ३ गोल गरेको बंगलादेशमाथि दोस्रो हाफमा भुटानले सम्हालिएर खेले पनि गोल फर्काउन भने असफल रह्यो । खेल सकिन केही मिनेट बाँकी रहेका बेला बंगलादेशका दिपकले डी बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जित दिलाए ।

बंगलादेशले अब दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र माल्दिभ्स आज ३ बजे खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.