पारसको कीर्तिमानी शतकसँगै सिंगापुरमाथि नेपालको शानदार जित

पारसको कीर्तिमानी शतकसँगै सिंगापुरमाथि नेपालको शानदार जित

११ असोज, काठमाडौं ।

पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । यो सँगै त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । शनिबार सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो ।

नेपालले पहिलो विकेटको रुपमा इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो ।  कप्तानी पारी खेलेका पारसले आरिफ शेखसँग १४५ रनको साझेदारी गरे । जुन टि–२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो । उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनी १०६ रनमा अविजित रहे । पारसलाई साथ दिएका आरिफ ३९ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । जनक प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा करण केसीले दिलाए । करणले ओपनर रोहन रंगराजनलाई विकेटकीपर बिनोद भण्डारीबाट ६ रनमा क्याच आउट गराए ।

टि२० आईमा डेब्यू गरेका सुसन भारीले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई ३५ रनमा बोल्ड आउट गरे । नवौं ओभरको पहिलो बलमा सुसनले बोल्ड आउट गर्नु अघि चन्द्रमोहनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । करणले १५ ओभरको तेस्रो बलमा विकेटकीपर मनप्रित सिंहलाई १५ रनमा एलवी डब्लू आउट गरे । नेपालका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदा कुनै विकेट लिएनन् भने अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.