११ असोज, विराटनगर ।
विराटनगरको जैन भवनमा ४ दिने प्रदेश स्तरीय कोसेली महोत्सवको सुरु भएको छ । घरेलु तथा कुटिर र महिलाहरुले संचालन गरेका उद्योगबाट उत्पादन भएका वस्तुको व्यापार र प्रबद्र्धन गर्ने उद्धेश्यले उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले संयुक्तरुपमा मेलाको आयोजना गरेका हुन् ।
‘कोसेली महोत्सव मेड इन नेपाल २०७६’ नाम दिईएको सो महोत्सवको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । ‘राष्ट्रको आर्थिक बृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नारासहित आयोजना हुने सो महोत्सवमा नेपाली उद्यमी महिलाहरुले उत्पादन गरेका वस्तुहरु बेचविखन र प्रदर्शनी गरिने छ ।
विगतमा कोसेली महोत्सव आयोजना गरिएपनि यसपालिको कोसेली मेला फरक उद्धेश्य बोकेको र विशेष आकर्षक हुने आयोजकको दाबी छ । यसपालिको कोसेली महोत्सवमा महिलाहरुको अधिक सहभागिता रहने महिला उद्यम समितिकी उपाध्यक्ष तथा कोसेली महोत्सव आयोजक समितिकी सह–संयोजक जयश्री जाजूले बताइन् । उनले महोत्सवले महिला तथा युवामा उद्यमशीलताको विकासमा सघाउ पु¥याउने बताईन् ।
एकसय भन्दा बढी स्टल रहेको सो महोत्सवमा हस्तकलकाा सामग्री, सिलाई कटाईका वस्त्र, जुत्ता चप्पल, ढाका तथा उनीका न्यानो कपडा, अग्र्यानिक खाद्य बस्तु , शृंगार साधन, सूचना प्रविधि र घरायसी सामग्रीहरु साथै विभिन्न किसिमका खानाका परिकारहरु राखिने छन् । महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादनबारे जानकारी, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अग्र्र्यानिक वस्तुको उत्पादन र उभोगमा जोड, महिला तथा युवामा उद्यमशीलताको विकासमा सघाउ पु¥याउने आयोजनको अपेक्षा छ ।
महोत्सव नाफाका लागि मात्र नभई उद्यमी महिलाहरुलाई सघाउ पुर्याउने उद्धेश्यले आयोजना गरिएको सह– संयोजक जाजूले बताईन् । उनले आर्थिकस्तर कमजोर भएका र उद्यमी बन्न चाहने महिलाहरुलाई आफुहरुले सहयोग गर्ने पनि बताइन् । असोज १४ गतेसम्म चल्ने सो महोत्सवलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं १ र विराटनगर महानगरपालिकाले सहयोग गरेको छ । मेलामा ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।