१३ असोज, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन् । पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता थापाले शाहीमाथि कुटपिटको घटना सरकार फासिष्ट हुँदै गएको संकेत भएको दाबी पनि गरे ।
दशैंको अवसर पारेर आइतबार काठमाडौंमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी उनले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको पनि बताए । ‘हिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्धारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छ, आज त्यहीँ पार्टीका कार्यकर्ता हिजो जे भएको छ, ठिकै भएको छ भनेर वक्तव्य निकाल्छ।’
नेता थापाको आक्रोश थियो, ‘सरकारले यसरी व्यक्तिको बोल्ने स्वतन्त्रता, उसको सम्पत्तिमाथिको स्वतन्त्रता खोजेर फासिष्ट बन्ने संकेत गर्दैछ ।’ नेता थापाले सत्तारुढ नेकपासँग विचारनै नभएकाले पनि सरकारको कामकार्वाही प्रभावकारी हुन नसकेको दावी पनि गरे । नेता थापाले सरकारले संसदमा ल्याएको दर्जनौ कानुन संविधान विरोधी भएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।