१३ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत् घरेलु टोली सिंगापुरले जिम्बाब्वेमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।
आइतबार सिंगापुरले टेस्ट मान्यता प्राप्त टोली जिम्बाब्वेलाई ४ रनले हराएको हो । आइसीसीको पूर्ण सदस्य टोली जिम्बाब्वेमाथि सिंगापुरको यो पहिलो जित हो ।
योसँगै तीन टोली सम्मिलित शृंखलामा तीनवटै टोलीको समान दुई खेलबाट समान २-२ अंक भएको छ । शृंखलाको अर्को टोली नेपाल हो । तीनवटै टोलीले समान एक जित र एक हार व्यहोरेका हुन् ।
जिम्बाब्वेको हारपछि नेपालमा अंकतालिका शीर्ष स्थानमा रहेको छ । तीनै टोलीको अंक समान हुँदा नेपाल ‘नेट रनरेट’का आधारमा शीर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा जिम्बाब्वे र तेस्रो स्थानमा सिंगापुर रहेको छ ।
शृंखलामा सबैले आपसमा दुई दुईवटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।
आइतबार वर्षाका कारण सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेल १८ ओभरमा झारिएको थियो ।टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निधारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन जोड्यो ।
सिंगापुरका लागि मनप्रीत सिंहले २३ बलमा ४१ रन तथा टिम डेभिडले २४ बलमा समान ४१ रन बनाए । उसका ओपनर रोहन रंगराजन २२ बलमा ३९ रन बनाएर ‘रनआउट’ हुँदै पवेलियन फर्किएका थिए । यस्तै, सुरेन्द्रन् चन्द्रमोहनले १७ बलमा २३ रनको योगदान दिए ।
जिम्बाब्वेका रायन ब्रुलले सर्वा्धिक ३ विकेट लिए । जवाफमा १८२ रनको विजय लक्ष्य पच्छ्याएको जिम्बाब्वेले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १७७ रनमात्रै बनाउन सक्यो ।
जिम्बाब्वेका कप्तान सिन विलियम्सले ३५ बलमा सर्वा्धिक ६६ रनको योगदान गरे । ओपनर रेगिस चकाभाले १९ बलमा ४८ रन बनाएको जिम्बाब्वेको इनिङ्समा टिनोटेन्डा मुटोम्बोजीले ३२ रन जोडे । उसका अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सिंगापुरका अमजाद महबुब र जनक प्रकाशले २र२ विकेट लिए । शृंखलाअन्तर्गत् नेपालले अब मंगलबार पुनः जिम्बाब्वेसित र बुधबार सिंगापुरसित खेल्नेछ । नेपाल पहिलो खेलमा जिम्बाब्वेसित पराजित भएको थियो भने दोस्रो खेलमा सिंगापुरलाई हराएको थियो ।