नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता

१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।

नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सह सचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्ने छन् ।

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ ।

यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नुपर्नेछ ।

समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् ।

सम्झौता तथा समझदारी अनुसार दुवै पक्षका एयरलाइन्सले जुन सुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्यावा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने छन् ।

दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्य पूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने सह सचिव आचार्यले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.