नेपाल र अष्ट्रेलियाबीच हुने खेलको समय परिवर्तन

नेपाल र अष्ट्रेलियाबीच हुने खेलको समय परिवर्तन

१५ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हुने विश्वकप छनौट अन्तर्गत समूह चरणको खेलको समय परिवर्तन भएको छ ।

यसअघि अष्ट्रेलियाको समय अनुसार दिउँसो ४ बजे सुरु हुने भनिएपनि नयाँ समय अनुसार अब रातको ८ बजे हुने भएको छ । अब नेपाल र अस्ट्रेलियाबीचको खेल असोज २३ गते क्यानबेरास्थित जियो स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुने तय भएको छ ।

नेपाली टोली सोही खेलका लागि बुधबार अस्ट्रेलिया प्रस्थान गरेको छ । नेपाली टोलीले सिड्नीस्थित प्राइभेट फुटबल एकेडेमीमा केहि दिन प्रशिक्षण गर्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । क्यानबेरामा हुने खेलका लागि नेपाली टोली दुई दिनअघि सिड्नीबाट त्यसतर्फ जानेछ ।

सिड्नीमा अस्ट्रेलियन नेपाली फुटबल संघको व्यवस्थापनमा नेपाली टोली बस्नेछ । अस्ट्रेलियासँग खेलको भोलिपल्ट असोज २४ गते नेपाली टोली जोर्डन प्रस्थान गर्नेछ । नेपाल र जोडर्नबीच असोज २८ गते खेल हुनेछ ।

त्यसपछि नेपाली टोली स्वदेश फर्कनेछ । एसियाको विश्वकप छनौटको समूह बीमा ५ मध्ये ४ टोली कुवेत, अस्ट्रेलिया, जोर्डन र नेपालको समान ३ अंक छ भने चाइनिज ताइपेइ अंकविहिन छ ।

गत महिना पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपालले अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले उसैको मैदानमा हराएको थियो ।

चाइनिज ताइपे पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो । त्यस्तै अस्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको थियो । अस्ट्रेलिया र जोर्डनले १ खेल खेलका छन् भने बाँकी ३ टोलीले समान २ खेल खेलिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.