१६ असोज, एजेन्सी ।
श्रीलंकालाई ५ विकेटले पाराजित गर्दै घरेलु टोली पाकिस्तानले तीन वान डे सिरिज जितेको छ ।
बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
पाकिस्तानको जितमा ओपनर खकार जमानले ९१ बलमा ७ चौका र १ छक्का सहित ७६ रनको योगदान दिए । त्यस्तै आबिद अलीले ६७ बलमा १० चौका सहित ७४ रन जोड्दै म्यान अफ द म्याच चुनिए ।
त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भएका बाबर आजमले ३१, कप्तान शरफराज अहमद २३,हरिस सोहेल ५६ र इफ्खितर अहमदले २८ रनको योगदान दिए ।
श्रीलंकाका लागि नुवान प्रदीपले २,लाहिरु कुमारा,वानिन्दु हरंरगा, शेहान जयसूर्याको नाममा समान १ विकेट रह्यो । त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।
श्रीलंकाका लागि ओपनर दनुष्का गुणतिलकले सर्वाधिक १ सय ३३ रनको योगदान दिएपनि टोलीको हार टर्न सकेन। ४५ औं ओभरको तेस्रो बलमा मोहम्मद आमिरले बोल्ड आउट गर्नु अघि दनुष्काले १ सय ३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे । उनको यो ओडीआई करिअरको दोस्रो शतक हो ।
त्यस्तै विकेटकिपर मिनोद भनुका र कप्तान लाहिरु थिरिमानेले समान ३६ रन जोडे । एन्जिलो परेरा १३,अभिष्का फ्रर्नान्डो ४,शेहान जयसूर्या ३ रनमा आउट भए । तल्लोक्रममा दासुन शनाकाले २४ बलमा ५ चौका र २ छक्का सहित ४३ रनमा क्याच आउट भए ।
पाकिस्तानका लागि तीब्र गतिका बलर मोहम्मद आमिरले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । उस्मान शिनवारी,सादब खान,वहाब रियाज र मोहम्मद नवाजको नाममा समान १ विकेट रह्यो ।