१६ असोज, काठमाडौं । चौथो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) आगामी फागुन पहिलो साता हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता फागुन ३ देखि १५ सम्म हुने उल्लेख गरेको छ ।
क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा चौथो संस्करणको डीपीएलको मिती सार्वजनिक गरेको एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो ।
अत्तरियाले फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । देशकै सर्वा्धिक राशीको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रकम हात पारेको थियो ।
यसपटक पनि रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ शहरका ६ फ्रेन्चाइज टिम रहेका छन् ।